दाहिने हातको पछाडी भागमा दुई पटक कसैले सुस्तरी थपथपाएको जस्तो लाग्यो, अनि मेरो निन्द्रा भङ्ग भयो। भर्खरै किनाराका घर-टहरा भत्काएर विद्रुप भएको बाटोमा बर्खे झरीले कुँदेर बनाएका खाल्टाखुल्टी माथि माइक्रोबस उफ्रँदै र जोल्टिङ खाँदै अगाडी बढिरहेको थियो। गल्फुटार कटेपछि कहिलेकाहीँ खलासीले भाडा माग्न निन्द्राबाट ब्यूँझाउने गर्थ्यो। प्रायजसो भाडा माग्दै आएको म आफैँ थाहा पाउथें र जाग्ने गर्थें। तर अहिले त बस भर्खर आधा बाटो काटेर नारायण गोपाल चोक आसपास पुगेको थियो। भाडा उठाउने बेला नै भएको थिएन। यो बाटो दैनिक ओहोरदोहोर गर्न लागेको ३ वर्षे यात्रा अनुभवमा खलासीको जगाउने तरिका आजको जस्तो विशेष कहिल्यै लागेको थिएन। आजको स्पर्श निकै मन्द थियो - धेरै सोच-विचार गरेर, अड्कलेर दुई कोमल औँलाले दुई पटक विस्तारै छोएको जस्तो। त्यो हात खलासीको त पक्कै हैन। बरु कतै मैले निन्द्राको सुरमा छेउको कुनै यात्रुलाई अप्ठेरो हुने गरी बसेँ कि? वा टाउको ढल्केर अरू कसैको काँधमा पुग्यो कि? सोच्दै पनि अप्ठ्यारो लाग्यो। तर होइन, मेरो जिउ त सिधा नै थियो र टाउको पनि लगभग सिधैँ थियो, मात्र केही तल झुकेको थियो। यी सबै कुरा मैले त्यो स्पर्श महसुस गरे देखि आँखा खोल्दा सम्म करिब १-२ सेकेन्डमै सोच्न भ्याइसकेको थिएँ।
आँखा खोलेँ अनि टाउको उचालेर हेरेँ। मेरा आँखा अगाडी, नजिकै तर अलि दाहिने पट्टी दुई सुन्दर आँखा म तर्फ नै हेरिरहेका थिए। अलिकति लाज, केही धक र धेरै उत्सुकता ती आँखामा देखिए जस्तो लाग्यो। एक त आफ्नो हेर्दै डर लाग्ने अनुहार, त्यसमाथी दुई हप्तादेखि दाह्री काटेको थिइँन। दिनरात कम्प्युटरको स्क्रिन हेर्दा हेर्दा थाकेका आँखा भर्खर केही बेर निदाएर उठ्दा झन् कति राता, डरलाग्दा भए होलान्! आफूलाई भने अति प्यारो लाग्ने निन्द्राबाट अचानक ब्यूँझनु परेको थियो, त्यो पनि किन हो भन्ने समेत थाहा छैन। मेरो अनुहारमा पनि केही झर्को र केही असमञ्जसताको भाव देखिए होलान् सायद।
मलाई एक तमासले हेरिरहेका ती आँखा विचलित भए र केही बोल्न खोजे। त्यतिन्जेल मेरा आँखा त्यो टिमिक्क मिलेको नाक र थोरै मुस्काएको हो कि जस्तो लाग्ने ओठसम्म पुगिसकेका थिए। कतै चिनेको मान्छे त हैन, भनेर एक छिन दिमागमा त्यो अनुहारलाई सरर दौडाई हेरेँ तर अहँ पटक्कै ठम्याउन सकिँन। अचानक ती ओठ चल्न थाले र कानमा एउटा अति मधुर स्वरले प्रवेश गर्यो - “निदाउनु भएको थियो, फेरि ओर्लिने ठाउँ छुट्ला भनेर।”
शब्दहरू कानबाट छिरेर दिमागसम्म पुगे पनि दिमागले तुरुन्त अर्थ पहिल्याउन भने सकेन। सकोस् पनि कसरी? हजारौं पटक गाडीमा ओहोरदोहोर गरियो होला, सयौं पटक त निदाइयो पनि होला तर आजको जस्तो अवस्था पहिलो पटक आएको थियो। त्यस माथि भर्खरै कचमचिएको निन्द्रा। अलमलमा मुखबाट यति मात्र निस्कियो - “हजुर?”
“तपाइँ निदाउनु भएको थियो, तपाइँको ओर्लिने ठाउँ आउला अनि छुट्ला कि भनेर।” उनको ओठमा फेरि थोरै मुस्कान जस्तो देखियो। म अझै अलमलमै थिएँ। के भन्ने, दिमागमा केही आएको थिएन। तर केही त भन्नै पर्ने थियो। दिमाग पुरै ब्यूँझिईसकेको थिएन सायद, सोझै निस्कियो - “म ओर्लिने अलि माथि नै हो, लास्ट स्टप, फरक पर्दैन। मलाई यस्तै बानी छ।” यति बोलिन्जेल पनि मैले आफ्नो मुहारमा मुस्कान ल्याउन सकेको थिइँन। म रिसाएको नै त थिइँन, तर त्यो बेला मेरो अनुहारको भङ्गिमा सायद अलि रिसाएको जस्तो पो देखिएको थियो कि? के गर्ने, आफ्नो अनुहारै यस्तो। उनको आँखा र ओठबाट अलि अलि रहेको मुस्कान पनि पूरै हट्यो। मलाई मेरो गल्ती महसुस भयो। मैले ‘धन्यवाद’ भन्नुपर्थ्यो। कमसेकम अनुहारमा अलिकति सौहार्दपूर्ण मुस्कान त ल्याउनै पर्थ्यो, नक्कली नै भए पनि। तर अब ढिलो भइसकेको थियो, उनी अगाडी फर्किसकेकी थिइन्। उनको घुम्रिएको कपाल हेर्न बाहेक केही गर्न, केही भन्न सकिँन। यतिकै टोलाईरहेँ। बढ्दै आएको ग्लानि भावले निन्द्रालाई कतै पर लखेटिसकेको थियो।
केही बेर, करिब १० सेकेन्ड पछि त्यो कपाल चल्यो। थोरै मात्र पछाडी फर्के जस्तो गरेर उनले भनिन् - “सरी।”